१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

बिबाहको खर्च जोगाएर विद्यालयलाई सहयोग

२१ फागुन, नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ११ का गोकर्णप्रसाद तिवारीले बिबाहमा खर्च हुने रकम कटाएर दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन ।

तिवारीले आफूले माध्यामिक शिक्षा हाँसिल गरेको नगरपालिकाको वडा नम्बर १० मा रहेको निरञ्जना उच्च माविका गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउन आफ्ना पिता स्वर्गीय होमनाथ तिवारीको नाममा अक्षय कोष स्थापना गरेका हुन ।

उक्त कोषको ब्याजबाट आउने रकमले एसईई परीक्षामा उत्कृष्ट ४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्रार्चाय शिवराज पाण्डेले जानकारी दिए ।

हाल अमेरिकामा रहदै आएका तिवारीले आफ्नो जन्मस्थानमा केही गरौं भन्ने भावनाले उक्त अक्षयकोष स्थापना गरी विद्यालयलाई सम्झिएकामा आफुलाई खुशी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले बताए ।

छोराले बिबाह खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै आमा अम्बिका तिवारीले अन्य छोराको पनि बिबाहको खर्च कटौती गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई पढ्नका लागि सहयोग पुर्याउने बताइन ।

सहयोग गर्ने तिवारी र उनकी श्रीमती विद्या खरेलले आगामी दिनमा पनि आफूहरुले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक कर्यक्रममा सहयोग गर्ने जानकारी गराए ।

 

प्रकाशित मिति : March 5, 2018 at 3:08 pm