१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उहाँले सधैँ जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताउनुभयो । “बिकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन्,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन् ।”

बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिनुभयो । “आज जितेको दलले राम्रो काम गरे भोलि पनि चुनाव जित्छ भनेर खुट्टा तान्ने प्रवृत्ति छ,” उहाँले भन्नुभयो, “यो गलत प्रवृत्तिका विरुद्धमा लागौँ, नराम्रो मध्येको राम्रो दल छान्ने होइन राम्रो मध्येको राम्रो दल छान्ने वातावरण बनाऊँ ।”

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनुभयो । “कोरोनाले हाम्रो स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न ठूलो सहयोग ग¥यो, आवश्यकताको पहिचान भयो, अहिले यो क्षेत्र सुध्रिएको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको तलबमानमा समस्या छ, सहर र गाउँ छुट्याएर काम गर्नेलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ ।” उहाँले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्न सके अस्पतालको खाँचो नहुने धारणा राख्नुभयो ।

प्रकाशित मिति : March 14, 2022 at 2:13 pm