१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्छ : मन्त्री भुसाल

२८ फागुन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभई व्यवहारिकरूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “आर्थिक अधिकार व्यवहारमा कार्यान्वयन नहुँदासम्म महिलाको हक सुनिश्चित भएको मान्न सकिँदैन ।”

पैतृक सम्पत्तिमा बराबर अधिकार कायम गराउने गरी महिला आन्दोलनका अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले राजनीतिक र मौलिक अधिकारको पनि व्यवहारमा कार्यान्वन नभइसकेको अवस्थामा महिलाहरू आफ्ना अधिकारका लागि सक्रिय भएर वकालत गर्नुपर्ने बताउनुभयो ।

आफूहरूले परिवर्तन र अधिकारका विषय उठाउँदा जेल भोग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उहाँले भन्नभुयो, “विगतमा हामीले अधिकार माग्दा जेल भोग्नुपथ्र्यो, म त १६ वर्षकै उमेर जेल परेको थिएँ, जनयुद्धमा अधिकारका लागि आन्दोलनमा होमिएका दुई हजार ५०० महिला सहिद भए, अब पनि अधिकारका लागि निरन्तर वकालत र आन्दोलन गर्नुपर्छ ।”

अधिकारका लागि निरन्तर सुझारु आन्दोलनको खाँचो पर्ने भएकाले परिवर्तनकारी नेकपा (माओवादी केन्द्र)मा रहेर आफ्ना अधिकारका लागि निर्वाचनमा माओवादीको एजेण्डा लिएर अघि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । आफ्नो पार्टीले महिलालाई विशेष स्थान दिएको दाबी गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि थप अधिकारका लागि पार्टीमा दबाब सिर्जना गर्ने प्रतिबद्धता थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापालगायतले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार सुनिश्चित गर्नका लागि पनि प्रगतिशील पार्टी माओवादी बलियो बन्नुपर्ने भएकाले त्यसतर्फ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : March 12, 2022 at 6:53 pm