६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आशा जगाउँदै सुनकोसीको फोक्सिङटार पुल


२७ फागुन, खोटाङ । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणले गति लिएसँगै खोटाङ र उदयपुरका बासिन्दामा अब चाही पुल बन्छ की भन्ने आशा जगाएको छ ।

सम्झौताअनुसार यो पुल २०७५ सालमै बनिसक्नु पर्ने हो । अहिले बल्ल पुलको ‘आर्क’को ट्रस राखेर आरसीसी ढलान सुरु गरिएको छ । २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरेको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुनेछ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुल पुरा हुन सकेको छैन । ‘आर्क’ पुलको खोटाङ र उदयपुरतर्फ दुई दुई कोलम ढलान गरिसकिएको साइट इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माण नरोकिने निर्माण व्यवसायीको भनाइ छ ।

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने पक्की पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माण सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाइघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउनेछ । पुलको तेश्रोपल्ट थप भएको म्याद आगामी चैतमा सकिँदैछ । तर, बाँकी समयभित्र पुल निर्माण सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्ने गरी ठेक्का लागेको हो ।

फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने क्रममा राज्यको करोडौं खर्च भइसकेको छ । फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।

पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक विरोध गर्दैआएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १६:१९