२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

८ मार्च : परिवारलाई समस्या पर्ने त्रासले हिंसा सहेर बस्न बाध्य


२४ फागुन, सप्तरी । राजविराज नगरपालिका-१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित छिन् । समाजकाे डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बाेक्सीकाे आरोप लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका- २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,´गाउँमा काेही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’

राजविराज नगरपालिका-५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए । प्रहरीले उनलाई जाेगाए । भन्छिन्, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीकाे मृत्यु भएपछि भतिजले उनीमाथि बाेक्सी आराेप लगाएका थिए । दुखनी मात्र हाेइन उनकी बुहारीलाई पनि बाेक्सी आराेप लगाइयाे । ´त्यो घटनाले मानसिक पीडा भयाे । दुई वर्षसम्म समस्या भयाे,’ उनी भन्छिन् ।

अहिले उनको जीवन सामान्य छ । सानाेतिनाे व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएकाे बताउँछिन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ । सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १३:१९