२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सल्लाघारीको मुपुज्व गणेश मन्दिरः खर्च ३७ लाख, चन्दा २६ लाख


२४ फागुन, भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर पुनर्निर्माण भएको छ । मन्दिर निर्माणका लागि ३७ लाख खर्च भएकोमा २६ लाख रुपैयाँ चन्दाबाट संकलन भएको छ । मंगलबार भएको मन्दिर उद्घाटन र शिलापत्र अनावरण कार्यक्रममा मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आयव्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनले मन्दिर निर्माणका लागि विभिन्न संघसंस्था र चन्दादाताबाट २६ लाख ६७ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बताए । उनले मन्दिर पुनर्निर्माणमा १० हजार रुपैयाँभन्दा माथिको सहयोग गर्ने संघसंस्था तथा दाताको नाम शिलापत्रमा उल्लेख गरेको उल्लेख गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनर्निर्माण भएकोमा खुसी व्यक्त गरे ।

भक्तपुर नपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इशानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरू जीर्णोद्धार र पुनर्निर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरको सांस्कृतिक पुनर्जागरणमा भक्तपुर नपाले गरेको काम उल्लेखनीय भएको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १३:१४