८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीलाई ‘गार्ड अफ अनर’ दिइने


२० फागुन, काठमाडौं । यही फागुन २१ गते नेपाल भ्रमणमा आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासीलाई गार्ड अफ अनर दिइने भएको छ ।

सोमबार नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिने सरकारले जनाएको छ । यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो ।

सोमबार अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लने पाकिस्तानी प्रधानमन्त्री त्यहाँबाट सोझै टुँडीखेलमा आउनेछन् । टुँडीखेलमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नुका साथै सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइने कार्यक्रम तय भएको छ ।

दुई दिने भ्रमणका क्रममा अब्बासीले सोमबार नै प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने मंगलबार स्वदेश र्फकनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २१:५१