१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

त्रिवि सेवा आयोगमा लगाएको ताला तत्काल खोल्न अनेरास्ववियुको आग्रह

१९ फागुन, काठमाडाैँ । नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न आंशिक प्राध्यापकहरूलाई आग्रह गरेको छ।

त्रिवि सेवा आयोग तथा त्रिविका अन्य निकायमा आंशिक प्राध्यापकहरूले लामो समयदेखि तालाबन्दी गरेकोले सेवा प्रभावित बनेको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकालेर त्रिवि सेवा आयोगमा तालाबन्दी गरेर केही समूहले उपप्राध्यापक पदका लागि लिइने परीक्षा प्रभावित गर्न खोजेको उल्लेख गरेकी छिन् ।

अध्यक्ष बराल जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्ने काम सर्वथा प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको अनेरास्ववियुको ठहर छ,’ ।

 

आंशिक शिक्षकले नै तालाबन्दी गरेर योग्य शिक्षक विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै अनेरास्ववियुले आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा त्यस्तो कदमको विरूद्धमा जोस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने चेतावनीसमेत दिएको छ।

दैनिक ज्यालादारीबाट मासिक तलब दिनुपर्ने मागसहित आंशिक प्राध्यापकहरूले दुई सातादेखि त्रिवि र देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् । त्रिवि र आंगिक क्याम्पसमा गरी करिब दुई हजार आंशिक प्राध्यापक कार्यरत छन्।

प्रकाशित मिति : March 3, 2022 at 6:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/