२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

एनसेल बाह्रखरी गल्फमा राजकुमारले लिए अग्रता

१३ फागुन, काठमाडौं । स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौँ संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका कारण राईलाई ‘वेस्ट ग्रस र मोष्ट बर्डी’को पनि दाबेदार बनाएको छ ।

धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोर’का साथ दोस्रो स्थानमा छन् । त्यस्तै पोखराका हरि राई, धरानका राम तामाङ र विनोद राई ३५ ‘स्टेबल फोर्ड स्कोर’का साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । महिलातर्फ काठमाडौंकी खेलाडी सुष्मासिंह शाह ३९ ‘स्टेबलफोर्ड स्कोर’ जोड्दै पहिलो स्थानमा रहेकी छिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बुले ‘३७ स्टेबल फोर्ड स्कोर’ गरेकी छिन् ।

‘क्लोजेष्ट टु दी पीन’तर्फ धरानका खेलाडी बुद्धिमान सुनुवार होलो ६ फिट नजिक राख्न सफल भएर अग्र स्थानमा रहन सफल भएका छन् । त्यस्तै सिद्धार्थ राई ‘लङ्गेष्ट ड्राइभ’तर्फ अग्र स्थानमा छन् । ‘स्टेबलफोर्ड फम्र्याटमा ३ बाई ४ ‘ह्याण्डी क्याप’मा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए । प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : February 25, 2022 at 8:30 pm