कञ्चनपुरमा एकीकृत सम्पत्ति कर लागू
२१ साउन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ । नगरपालिकाको बैठकले करका दर रेट निर्धारण गरी एकीकृत सम्पति कर लागू गरेको हो । स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पति कर सम्बन्धी भएको व्यवस्थाअनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्था अनुसार कर लागू गरिएको नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।
“नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर जग्गाको एकिकृत हिसाब गरी कर लगाइएको छ,” उहाँले भन्नुभयो । रु एक लाखसम्मको सम्पतिमा रु १०, रु एक लाखदेखि रु दुई लाखसम्मको सम्पतिमा रु २०, रु दुई लाखदेखि रु तीन लाखसम्मको सम्पतिमा रु ३०, रु तीन लाखदेखि रु चार लाखसम्मको सम्पतिमा रु ४०, रु चार लाखदेखि रु पाँच लाखसम्मको सम्पतिमा रु ५०, रु पाँच लाखदेखि रु १० लाखसम्मको सम्पतिमा रु एक सय ५०, रु दश लाखदेखि रु १५ लाखसम्मको सम्पतिमा रु दुई सय, रु १५ लाखदेखि रु २५ लाखसम्मको सम्पतिमा रु तीन सय, रु २५ लाखदेखि रु ३५ लाखसम्मको सम्पतिमा रु ६५०, रु ३५ लाखदेखि रु ५० लाखसम्मको सम्पतिमा रु आठ सय, रु ५० लाखदेखि रु ७५ लाखसम्मको सम्पतिमा रु एक हजार दर रेट निर्धारण गरिएको छ ।
रु ७५ लाखदेखि रु एक करोडसम्मको सम्पतिमा रु दुई हजार पाँच सय, रु एक करोड ५० लाखदेखि रु दुई करोडसम्मको सम्पतिमा रु चार हजार, रु दुई करोडदेखि रु तीन करोडसम्मको सम्पतिमा रु पाँच हजार पाँच सय, रु तीन करोडदेखि रु पाँच करोडसम्मको सम्पतिमा रु सात हजार, रु पाँच करोडदेखि रु १० करोडसम्मको सम्पतिमा रु १५ हजार, रु १० करोडदेखि रु २० करोडसम्मको सम्पतिमा रु २५ हजार र रु २० करोडभन्दा माथिको सम्पतिमा रु ५० हजार दर रेट निर्धारण गरिएको छ ।
सर्वदलीय समिति, मन्त्रालयको विज्ञ टोली र जनभावना अनुसार करको दर रेट निर्धारण गरिएको नगर प्रमुख ऐरले बताउनुभयो । घर जग्गाको आकार प्रकार, बनौट, अचल सम्पतिको उत्पादनशील उपयोगको अवस्था, नागरिकको कर तिर्नसक्ने क्षमता, अचल सम्पतिको प्रचलित बजार मूल्य तथा ह्रास मूल्यलाई कर निर्धारणको आधार बनाइएको छ ।
बजार क्षेत्रमा रहेको एक तले पक्की घरको रु एक सय, दुई तलेको रु एक सय ५०, तीन तलेको रु दुई सय, चार तलेको रु दुई सय ५०, पाँच तलेको रु तीन सय, ग्रामीण क्षेत्रमा रहेको एक तले घरको रु ७५ तथा पाँच तले घरको रु दुई सय ७५ शुल्क निर्धारण गरिएको छ । कच्ची घरको रु ५० शुल्क तोकिएको छ । बजार क्षेत्रमा रहेका पसल प्रतिसटर रु दुई हजार पाँच सय भाडा तय गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी एकिकृत सम्पति कर र बिटौरी कर लागू गरिएको हो ।
प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १७:४०