२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा

१३ माघ, वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “आइतबारबाट प्रत्येक वडाका टोल÷टोलमै पुगेर फाइबरको सिरक उपलब्ध गराका छौं”, नगरप्रमुख खनालले भन्नुभयो,“पहिलो चरणमा ७५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई लक्षित गरेर वितरण गरिएको छ ।”

नगरपालिकाले पहिलो चरणमा लक्षित एक हजार नागरिकलाई सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका झण्डै एकहजार ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो ।

पहिलो चरणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । दोस्रो चरणका लागि पनि रु १० लाख बजेट विनियोजन गर्ने तयारी छ । “जाडोमा ज्येष्ठ नागरिकलाई घर–घरमै भेट्न जाँदा पालिकाकोतर्फबाट उपहारस्वरुप न्यानो कपडा दिएका हौं”, उहाँले भन्नुभयो, “उद्देश्य यत्तिमात्रै छ, सक्दासम्म दुःख गरेका ज्येष्ठ नागरिक काम गर्न नसक्ने हुँदाको अवस्थामा हेलामा नपरुन्, आदर सम्मान गर्ने बानीको विकास गर्न सकियोस् भन्ने सिकाउन ‘ज्येष्ठ नागरिक सम्मान’ अभियान सञ्चालन गरिएको हो ।”

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १४:४३