८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

हुचिल र सालकको मासुसहित नुवाकोटका दुई जना पक्राउ


२० फागुन,नुवाकोट । नुवाकोटमा हुचिल र सालकको मासुसहिल दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालीका –७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोटका प्रहरी प्रमुख बसन्त कुवरले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नुवाकोट प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जना पक्राउ परेका हुन् ।
लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई सिआइबी प्रहरीले ग्राहक बनेर पछ्याउने क्रममा शनिबार कृष्णलालको घरबाट हुचिल र सालकको सुकेका मासुका टुक्राहरु नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

हुचिल र सालक लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअनुसार कारबाहीका लागि प्रहरीले आज जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १०:३९