२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

१२ माघ,काठमाडौं । सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१० एन्टिजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोना संक्रमणमुक्त हुँदा पाँच जना संक्रमितले ज्यान गुमाएका डा पौडेलले जानकारी दिए । बुधबार २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:५०