२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कपिलवस्तुमा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

१२ माघ, कपिलवस्तु । पुसको दोस्रो सातादेखि लगातार चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरेको छ । बुधवार यशोधरा गाउँपालिकाको रङ्गपुर र मर्यादपुरमा १४ परिवारलाई २८ थान ब्लाङ्केट वितरण गरिएको हाे ।

जिल्लाभरि १९९ विपन्न परिवारलाई सहयोग गर्ने लक्ष्य लिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताए । जिल्लाका २९ प्रहरी युनिटमार्फत अति विपन्न परिवारको नामावली संकलन गरी सहयोग गरिने बताइएको छ ।

परिवार संख्याको आधारमा ब्लाङ्केट वितरण गरिएको छ । दुई जना सदस्य भएमा एक थान र सोभन्दा बढी भएमा थप एक वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

स्थानीय सरकार तथा अन्य संघ संस्थाबाट सहयोगको दायरामा नपरेका परिवार ब्लाङ्केट पाएपछि खुसी भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार चिसो तथा शीतलहर प्रभावितलाई सहयोग गरिएको थियो ।

कपिलवस्तुमा निरन्तर चिसो बढेपछि स्थानीय सरकारले विपन्न परिवारलाई सिरक वितरण गर्दै आएका छन् । कुहिरो लाग्ने गर्दा र साँझ शीतलहर चल्दा तापमान कम भएको सामाजिक अभियन्ता शिवलाल यादवले बताए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:१४