१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ताराखोला जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

१२ माघ, गलकाेट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो ।

दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिनुभयो । “दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत्समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ,” उहाँले भन्नुभयो, “अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ । गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।”

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ । प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ ।

सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ । केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र अर्को छ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ । सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उहाँको भनाइ छ । स्थानीय जलविद्युत् समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ ।

प्रकाशित मिति : January 26, 2022 at 12:50 pm