२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

घरमै अपांगता परिचयपत्र पाएपछि दंग छन् थापा

११ माघ, अर्घाखाँची । सामान्य हिँडडुलसमेत गर्न नसक्ने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१० बेल्टारीका मित्रबहादुर थापाले घरमै अपांगता परिचयपत्र पाएपछि खुसी व्यक्त गरेका छन् । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले घरमै पुगेर अपांगता परिचयपत्र प्रदान गरेपछि राज्यबाट पाउने सेवासुविधा पाउने आशा पलाएकाे छ ।

विगतमा सदरमुकाममा आफै पुग्नुपर्ने, झन्झटिलो प्रक्रिया र पुगे पनि कार्ड बन्ने नबन्ने निश्चित नभएका कारण सन्धिखर्क जान नसकेको बताउने थापा एकाएक विकसहितको टोली कार्ड बोकेर घरमै आएपछि खुसी भएका हुन् । “तीन वर्षअघि प्यारालाईसिसको समस्या भएको थियो,” शैचालय जानसमेत सहारा आवश्यक पर्ने थापाले भने, “अहिले कम्मर मुनीको भाग केही पनि चल्दैन ।”

नगरपालिकाले घरमै आएर परिचयपत्र वितरण गर्दा भगवान आएजस्तो भएको थापाले बताए । क वर्गको अपांगता परिचय पत्र प्रदान गर्न उपप्रमुख विक, महिला तथा बालबालिका शाखा प्रमुख बेलकुमारी परियारलगायत घरमै पुगेका थिए । विपन्न तथा कमजोर अवस्थामा भएका जनताहरूको समस्या आफ्नो पहिलो प्राथमिकतामा पर्ने विकले बताए । “यसभन्दा अघि पनि धेरै नागरिकलाई हामीले घरमै पुगेर सेवा दिने गरेका छौं,” विकले भने, “त्यसैको निरन्तरतास्वरूप उहाँलाई पनि परिचयपत्र दिइएको हो ।”

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ११:१६