२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

तनहुँ प्रशासनमा बार अनुसार सेवा

११ माघ, तनहुँ । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ ।

जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । हरेक दिन पाँच स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाएको उनको भनाई छ ।

उनका अनुसार हरेक स्थानीय तहका लागि तीन दिन छुट्ट्याइएको छ । कोरोनाको संक्रमण फैलने जोखिम बढेपछि आलोपालो बार अनुसारको सेवा दिने निर्णय भएको उनको भनाई छ । ‘कार्यालयमा सेवा लिनलाई खोप कार्ड अनिवार्य गरेका थियौं । खोप कार्ड अनिवार्य हुँदा पनि भिडभाड कम नभएपछि बार अनुसार सेवा दिँदैछौं’, उनले भने ।

अहिले प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिनलाई दैनिक तीन सय बढी सेवाग्राहीको भिड लाग्ने गैरेले जानकारी दिए । उनका अनुसार राहदानी सेवा दैनिक १५ जनालाई मात्र दिने व्यवस्था छ ।

आइतबार, मंगलबार र बिहीबार व्यास नगरपालिका, भानु नगरपालिकासँगै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ । सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकासँगै, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकावासीले प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा पाउनेछन् ।

पछिल्लो २४ घण्टामा मात्र तनहुँमा ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २०२ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय तनहुँ मातहतका स्वास्थ्य संस्थाबाट ७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । व्यास नगरपालिकाको कोभिड ल्याबबाट २२ जना र १०८ जनाको पोखरामा पिसिआर परीक्षण गरिएको थियो ।

जिल्लामा मंगलबारसम्म ५१३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए । सबै संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । ‘यसपालि संक्रमितलाई जटिल समस्या देखिएको छैन । त्यसैले होला संस्थागत आइसोलेसन रित्तै छन्’, उनले भने ।

जिल्लामा वैशाखदेखि पाँच हजार ९०६ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २६२ जना निको भएका छन् । १३१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १८:४५