२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको सो भवनको पिल्लार राख्ने कार्य भइरहेको छ ।

हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका व्यक्ति र स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा र सुविधासहित आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्षअघि नै गरिए पनि अहिले आएर बजेट विनियोजन भएकाले निर्माण कार्यसमेत थालिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।“सकेसम्म मानिसलाई वृद्धाश्रम लग्नु हुँदैन तर अहिले वृद्धाश्रम नभई नहुनेजस्तो भइसक्यो”, उहाँले भन्नुभयो “घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान तथा योग सिकाउने र खुसी जीवनयापन गर्न सिकाउने मूल उद्देश्यले वृद्धाश्रम बनाउन थालिएको छ, अन्य वृद्धाश्रमभन्दा यो निकै फरक ढङ्गको र वृद्धवृद्धा मैत्री हुनेछ ।”

आर्थिक वर्ष २०७८÷७९ मा एक तलाको दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरिनेछ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकैतलामा हुनेगरी भवनको निर्माण सुरु भइसकेको र असार मसान्तसम्म एक तला भवन तयार हुँने नगरपलिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण थालिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने इञ्जिनीयर शर्माको भनाइ थियो । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, व्यायम केन्द्र, ध्यान गर्ने सभाकक्ष सहितको तीन वटा तीनतले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै रु १२ करोड खर्च हुने अनुमान गरिएको छ। वृद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा दिइनेछ । असार मसान्तसम्म सम्झौताबमोजिम भवन तयार गरेर वृद्धाश्रम सञ्चालनका लागि हस्तान्तरण गरिने निर्माण कम्पनीका कुमार खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १३:१०