१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण

१९ साउन, काठमाडाैँ । वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय टेकचन्द्र पोखरेलको १३ औँ पुण्य तिथिको अवसरमा आज यहाँ एक श्रद्धाञ्जलि सभाको आयोजना गरी उहाँको योगदानको स्मरण गरियो ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन क्षेत्रका छवटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्व पोखरेलले पर्यटन क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको हो ।

हिमालय उद्धार संघका संस्थापक अध्यक्ष रहनुभएका स्वर्गीय पोखरेलले नाट्टा, टान, नेपाल पर्वतारोहण संघलगायत पर्यटन व्यवसायीसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

सहभागी वक्ताले पर्यटन व्यवसायी स्व पोखरेल पर्यटन क्षेत्रको अग्रणी व्यक्तित्व भएको भन्दै उहाँको प्रेरणालाई आत्मसाथ गरी पर्यटन क्षेत्रको विकासमा जुट्नुपर्ने खाँचो औंल्याए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले स्व पोखरेल पर्यटन क्षेत्रको प्रेरणादायी र प्रखरवक्ता भएको उल्लेख गर्दै उहाँले देखाएको बाटोमा सबै पर्यटन व्यवसायी अघि बढ्नुपर्छ भन्नुभयो ।

ट्रेकिङ एजेञ्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल, नाट्टाका अध्यक्ष सिएन पाण्डे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा लगायतले पर्यटन क्षेत्रको धरोहरको रुपमा रहनुभएका स्व पोखरेलको निधनबाट पर्यटन क्षेत्रले ठूलो क्षति बेहोरेको भन्दै आगामी दिनमा उहाँको प्रेरणाबाट व्यवसायलाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा शुभेच्छुकहरुले स्व पोखरेलको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।

फोक्सोको क्यान्सरबाट पीडित पोखरेलको ८४ वर्षको उमेरमा गत साउन ७ गते निधन भएको थियो । नाट्टाका महासचिव रमेश थापाकाअनुसार पर्यटन क्षेत्रमा झण्डै पाँचदशक योगदान गर्नुभएका पोखरेल नाट्टाको अध्यक्षको रुपमा १५ वर्षसम्म नेतृत्वमा रहनुभयो ।

 

  

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १७:३३