२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो कपडा

२२ पुस, रसुवा । रसुवामा रहेका अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा बितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अति बिपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण सुरु गरेको हो ।

बिहीबार नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का ५० जना अति विपन्न परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरि अभियान सुरु गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘हिमपात हुने र दैनिक रुपमा चिसो बढेसँगै यो समयमा अति विपन्न परिवार बढी प्रभाबित हुने हुँदा चिसोलाई मध्यनजर राख्दै नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का अति बिपन्न परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरि अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘जिल्लामा हिमपात तथा अत्याधिक चिसो हुने क्षेत्रका अति विपन्न गरिब परिवारलाई बितरण गछौँ ।’

जिल्लाको ५ वटा गाउँपालिकाको २७ वटा वडा मध्ये १६ वटा वडाका ३ सय ३० घरपरिवारका अति विपन्न रहेका परिवारलाई न्यानो कपडा बितरण गरिने उनले बताए । ६ जना सम्मको परिवारलाई एउटा र ७ जना भन्दा माथिका परिवारलाई २ वटा ब्लाङ्केट बितरण गरिने उनले बताए । अबको करिब एक साता भित्रमा लक्षित अति विपन्न सबै परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरिने जैसिले बताए ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार २१:५६