२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

वृद्धवृद्धाको सहारा बन्दै मादल र बाँसुरी

२२ पुस, अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीका खिमबहादुर केसी निकै खुसी मुद्रामा नगरपालिकको कार्यालयमा भेटिए । युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि केसी दंग बनेका हुन् ।

‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका केसीले भने, ‘दिनभर कहाँ पुगेर समय कटाउने भन्ने चिन्ता हुन्थ्यो, अब केही सजिलो हुने भयो ।’

नगरपालिकाले हरेक वडाहरूमा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरी बाँसुरी, मजुरा, मादल लगायतका सामग्रीहरू वितरण गरेपछि दिनभर टोलाएर बस्ने वृद्धवृद्धाहरूमा केही खुसीको राहत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

‘गाउँहरूमा बुढाबुढीमात्र हुनुहुन्छ । दिनभर कहाँ गएर भुल्ने भन्ने समस्या छ,’ भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भने, ‘एक्लै हुँदा वृद्धवृद्धामा आउन सक्ने स्वास्थ्य समस्या कम गर्नका लागि पनि यी सामग्रीहरू दिइएको हो ।’

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।”

नगरपालिकाले खिमबहादुर केसीको अध्यक्षतामा नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खिमबहादुर चुदाली, सचिवमा तारा बेल्वासे, कोषाध्यक्षमा पार्वता शारु लगायत छन् ।

प्रकाशित मिति : January 6, 2022 at 12:06 pm