२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रतिबद्धतामै सकिँदै राजविराजका मेयर र उपमेयरको कार्यकाल

१९ पुस, सप्तरी । राजविराज नगरपालिकाका मेयर शम्भु यादव र उपमेयर साधना झाकाे कार्यकाल सकिन अब चार महिना पनि बाँकी छैन । चुनावताका दुवैले मतदातासमक्ष गरेको प्रतिबद्धता कागजमै सीमित हुने भएको छ।

चुनावका बेला उनीहरूले घरविहीनलाई घरको व्यवस्था, भय र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने, सहरी क्षेत्रमा फ्रि वाईफाईक‍ो व्यवस्था, महिलालाई उच्च सम्मान, सरकारी विद्यालयमा उच्चस्तरीय पठनपाठन, छिटोभन्दा छिटो सडक निर्माण गर्नेलगायत काम चुनाव जित्नेवित्तिकै पूरा गर्ने घोषणा गरेका थिए । तर कार्यकाल सकिन लाग्द समेत पूरा गर्न नसकेको स्थानीयको आरोप छ।

‘विश्वास गरेर मत दिइयो तर यो मेयर र उपमेयरको प्रतिबद्धता एकातिर र काम गर्ने शैली अर्कैतिर भयो,’ राजविराज नगरपालिका-१३ की सुनितादेवी यादवले भनिन्, ‘जनप्रतिनिधिबाट चाहिएको विकास हो। हामीलाई धन सम्पति चाहिएको होइन । तर पनि प्रतिबद्धता गरेकोमध्ये एउटा पनि पूरा गर्न नसकेपछि हाम्रो मत बालुवामा पानी हालेझै भएको छ।’

स्थानीय जनताको अपेक्षा र गरेको प्रतिबद्धताअनुसार ५ प्रतिशत काम पनि राजविराज नगरपालिकामा हुन नसकेको स्थानीय युवा दिलीप यादवको गुनासो छ।

‘घरविहीनले घर पाएको छैन। उल्टो सबैतिरबाट हेपिएर बस्नुपर्ने बाध्यता छ। जिल्लामा भय र भ्रष्टाचार बढेको छ। एकले अर्कालाई थिचोमिचो गर्ने प्रवृत्ति स्थानीय सरकार आएपछि झन् बढ्नु भनेको यसलाई स्थानीय तहले प्रोत्साहन गरेको स्पष्ट हुन्छ,’ राजविराज -७ की ललिता साहले भनिन्, ‘पहिले १५ देखि २० प्रतिशत कमिसनमा काम हुन्थ्यो । अहिले ५० प्रतिशतभन्दा कममा हुँदैन । पहिले पैसा नलाग्ने ठाउँमा पैसा नदिई काम हुन्थ्यो। अहिले पैसा नदिई कुनै पनि काम हुँदैन।’

कोरोना कालमा विद्यार्थीको भविष्य सुनिश्चितका लागि अनलाइन कक्षा सञ्चालन गर्न वाईफाई अति आवश्यक रहेकाे भन्दै वाईफाई नि:शुल्क दिने प्रतिबद्धता गरिएकाे थियाे । नि:शुल्क वाईफाईको व्यवस्था गरेर सप्तरीमा अनलाइन कक्षासमेत सञ्चालन गर्न नसक्नु दुखद भएकाे राजदेवी मावकमा कक्षा १० मा अध्ययनरत सरस्वती यादवले गुनासो गरिन्।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार ११:५२