२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

विद्यालयमा पानी अभाव : महिनावारी हुँदा विद्यालय नै जादैनन् छात्रा

१८ पुस, बागलुङ । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव हुन थालेकाे छ । खानेपानी व्यवस्थापनले पानीका लागि भनेर बर्सेनी बजेट छुट्टाए पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएकै कारण महिनावारी हुँदा छात्राहरू विद्यालय नै छाड्ने गरेका छन् ।

यस्तै पानी नहुँदा विद्यालयकाे नियमित सरसफाई तथा शौचालय समेत निकै नै फाेहाेर छ । ‘विद्यालयको धारामा पानी आउँदैन, पानी आयो भने पनि फोहोर छ,’ १० कक्षामा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भनिन्, ‘टाढा टाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुलब्याकुल परिन्छ । तर, खाने पानी पनि पाइदैन् ।’

शौचालय प्रयोग गर्नु परे विद्यालय नजिकका घरहरूबाट पानी माग्ने गरेकाे विद्यार्थीहरूको भनाइ छ । ९ कक्षामा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘हामी त घरबाटै पानी ल्याउछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’ खानेपानीकाे समस्याकै कारण याे विद्यालयमा विद्यार्थी कमी हुँदै गएको छ ।

विद्यालयलाई पायक पर्ने स्थानमा पानीकाे मुहानसमेत छैन । विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किलोमिटर टाढा छ । बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्छ ।

विद्यालयका प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहको लागि एक र माध्यामिक तहको लागि एक धाराे भए पनि पानी नियमित आउँदैन । ‘मुस्किलले एक सय लिटर पानी विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्‍याउन समस्या भएको छ ।’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानी कार्यालयलाई निवेदन लेखेको छु, नगरप्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।’

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १६:१७