१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवागढी क्षेत्रको असहजता हटाउन सरकारसँग नाट्टा र टानको माग

१७ साउन, काठमाडाैँ । पर्यटन क्षेत्रका दुई अग्रणी संस्था नेपाल एशोसिएशन आफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र ट्रेकिङ एजेन्सिज एशोसिएशन आफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गरी रसुवागढी (टिमुरे) क्षेत्रमा हुने गरेको कडाई कम गर्न र बाटो लगायत पर्यटन पूर्वाधारहरुको विकास गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष सिएन पाण्डे र टानका अध्यक्ष नवराज दाहालले जारी गरेको विज्ञप्तिमा टिमुरे पर्यटकीय हव भएका कारण सरकार नियन्त्रित क्षेत्र रहिरहँदा धेरै समस्या भोग्नु परेको भन्दै अन्य क्षेत्र जस्तै सामान्य रुपमा व्यवहार गर्ने उदार नीति अपनाउन नीतिगत पहलका निम्ति माग गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल घुम्न आउने तेस्रो मुलुक र भारतीय पर्यटकहरुको मुख्य आकर्षण रही आएको हिमाल आरोहण र हिमाली दृश्यावलोकन, ट्रेकिङ, हाइकिङ, मानसरोवर र अन्य साहसिक पर्यटनको रुपमा रहेको नेपाल चीन सीमा क्षेत्रको रसुवागढी (टिमुरे) क्षेत्र सधैँ पर्यटकहरुको मुख्य गन्त्यवको रुपमा रही आएको छ । तर, यस क्षेत्रमा बाटो लगायत पर्यटन पूर्वाधारहरु ज्यादै निम्नस्तरमा रहेको हुँदा उक्त क्षेत्रमा कुनै प्राकृतिक प्रकोप वा दुर्घटना घट्न गई पर्यटकहरुलाई उद्धार गर्न परेको खण्डमा सम्बन्धित निकायबाट लामो र झन्झटिलो प्रक्रिया पूरा गरी उद्धार गर्नुपर्ने विडम्वना पर्यटन क्षेले व्यहोर्दै आएको छ । जसले गर्दा समयमा पर्यटकहरुको उद्धार (हेलिकप्टरमा हुने उद्धार समेत) हुन नसकी कतिपय पर्यटकहरुले ज्यान गुमाउनुपर्ने जस्तो भयावह अवस्था रहँदा बाह्य पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गई नेपाली पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

त्यस्तै विज्ञप्तिमा अघि भनिएको छ, ‘हाल आएर पछिल्लो समयमा उक्त क्षेत्रमा सुरक्षा निकायको बलियो उपस्थिति रहेको र यो उत्तरी सीमा क्षेत्र नेपाली पर्यटनको हवको रुपमा समेत विकसित भईरहेको हुँदा यस क्षेत्रलाई अन्य क्षेत्रजस्तै सामान्य क्षेत्रको रुपमा व्यवहार गर्ने उदार नीति लिन र सोको नीतिगत सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुमा आवश्यक पहल हुन हामी समस्त पर्यटन उद्योगी तथा व्यवसायीहरु जोडदार माग गर्दछौँ ।’

पढ्नुहोस विज्ञप्ति

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १६:५६