१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गुणस्तरहिन पुष्टि भएपछि सगरमाथा सिमेन्टकाे बिक्री बन्द, सिमेन्ट प्रयोग नगर्न सर्वसाधरणलार्इ अपिल

१७ साउन, काठमाडौं । सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन रहेको पुष्टि भएपछि बिक्रीबितरणमा प्रतिबन्ध लगाइएको छ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न बिहीबार निर्देशन दिएको हो ।

बिहीबार सार्वजनिक सूचना नै निकालेर कार्यालयले सिमेन्टको बिक्रीबितरणमा रोक लगाएको हो ।  उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई अपिल समेत गरेको छ । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सगरमाथाको उद्योग सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो । अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई समेत पत्राचार गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १८:४८