२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

१७ पुस, दमाैली। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताउनुभयो ।

“इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, “हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भन्नुभयो, “तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।” अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताउनुभयो ।

न्याय, समानता, विकास र समृद्धिको बाटोमा अगाडि बढेर सबैले सम्मान गर्ने वातावरण सिर्जना गर्ने वातावरण बनाउने बताउँदै उहाँले भन्नुभयो, “गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।”

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकीकृत समाजवादीका लागि जनता ठूलो भएकाले जनतालाई शिरमा राखेर काम गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : January 1, 2022 at 1:12 pm