२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गाउँपालिकाको लेटरप्याडमा नेपाली कांग्रेसको सूचना, वडा समितिको बैठकमा शिक्षकलाई निम्तो

१६ पुस, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा गाउँपालिकाको लेटरप्याडमा नेपाली कांग्रेस पार्टीको सूचना जारी गरेको पाइएको छ । अख्तियारको दुरूपयोगमा उत्साहित भएर लागेका स्थानीय जनप्रतिनिधिले गाउँपालिकाको लेटरप्याडको दुरूपयोग गरेका हुन ।

गाउँगाउँमा सिंहदरबारको नारासहित स्थापित भएका स्थानीय तहमा अख्तियारको दुरूपयोग बढ्दो छ । यसैक्रममा जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा ‘मधु’ले गाउँपालिकाको लेटरप्याडमा कांग्रेसको सूचना निकालेका हुन । थापाले पालिकाको लेटरप्याड घोप्टो पारेर कांग्रेसको वडा समितिको बैठक डाकेका छन ।

उनको सूचनामा शिक्षकलाइ समेत सहभागिताका लागि निमन्त्रणा दिइएको छ । थापा कांग्रेसको पनि वडा सभापति हुन । वडा नम्बर ५ को थापा टोलमा हुने बैठकको निमन्त्रणा दिँदै जारी गरेको सूचना फेसबुक वालमा आफैँले पोस्ट गरेका छन । जहाँ सूचनासँगै आफ्नो फोटो पनि राखेका छन । पञ्चकन्या गाउँपालिका त्यो गाउँपालिका हो जहाँ जनप्रतिनिधि र कर्मचारी मिलेर सामाजिक सुरक्षा भत्ताको ५० लाखसहित ५३ लाख रूपैयाँ चोरी नाममा लुटिएको थियो ।

अहिलेसम्म वडा नम्बर २ का वृद्धहरूले भत्ता खान पाएका छैनन् । पञ्चकन्या नेपाली कांग्रेसका केन्द्रीय नेताहरू डा रामशरण महत र डा प्रकाशशरण महत, नुवाकोट सभापति रमेश महत र नेकपा माओवादीका नेता हितबहादुर तामाङको गृह पालिका हो ।

पालिकाको लेटरप्याड घोप्टो पारेर थापाले कांग्रेसको वडा कमिटीको बैठक बोलाएको सूचना ।

 

 

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार ०८:४२