२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

निजी वनजन्य सम्पदा निर्बाध भोगचलनको माग

१४ पुस, खोटाङ । खोटाङका स्थानीयले निजी जग्गामा लगाइएका वन सम्पदालाई अन्नबाली सरह बेच्न पाउनुपर्ने माग गरेका छन् । पारिवारिक निजी वन किसानहरूको सवालमा दिक्तेलमा बुधबार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीले किसानको स्वामित्वमा भएका जंगल तथा जडीबुटीको निर्बाध भोगचलन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका छन् ।

आफ्नो जग्गामा वन हुर्काएका दिक्तेलका मीनप्रसाद आचार्यले व्यक्तिको स्वामित्वमा रहेका साल, उत्तिस, चिलाउने जस्ता रुखमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेका छन् । ‘अन्य वन क्षेत्रको रुख काट्न पाउने तर व्यक्तिका निजी अधिकार भएको जग्गामा रहेका रुख काट्न नपाउनु स्वतन्त्रता र व्यक्तिगत सम्पत्तिको अधिकारको उल्लंघन हो,’ आचार्यले भने, ‘निजी जग्गामा संरक्षण गरिएका वन सम्पदालाई अन्नबाली सरह बेच्न पाउनु पर्छ र त्यसको सहजरुपमा बजार पहुँच व्यवस्था हुन आवश्यक छ ।’

आफ्नो निजी जमिनमा उत्पादन भएका काठ तथा जडीबुटीजन्य उत्पादनको विक्रीवितरणमा सहज कानुनी प्रावधान नहुनु विडम्बना भएको सहभागीले औंल्याएका छन् ।

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले आवादी जग्गामा उत्पादित काठ तथा जडीबुटीजन्य उत्पादनको ओसार–पसारमा रहेको झन्झटिला नीतिगत अवरोध हटाएर किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्थाको खाँचो औंल्याएका छन् । कांग्रेस नेतृ डिल्लीकुमारी आचार्यले किसानको बारीको छेउछाउमा हुर्केका रुखविरुवाको सहज विक्रीवितरण गरी जीविकोपार्जनमा टेवा पुर्‍याउनुपर्ने धारणा राखेकी छन् ।

यस्तै, जनता समाजवादीका प्रदेश सचिव सूर्यबहादुर राईले पारिवारिक निजी वनमा किसानको हक अधिकार सुनिश्चित गर्नका लागि नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता र पहुँच विस्तारमा जोड दिएका छन् । कार्यक्रम पारिवारिक निजी वन संघ खोटाङले आयोजना गरेको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक विशाल भट्टराई, पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १९:१९