२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी

१४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित हुनुभएका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले आज लैनचौर ब्याङ्क्वेटमा आयोजना गर्नुभएको ‘धन्यवाद ज्ञापन’ कार्यक्रममा उहाँले आफूले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने विश्वास दिलाउनुभयो । “तपाईँहरूले मलाई जुन विश्वासका साथ पार्टीको सहमहामन्त्रीमा निर्वाचित गर्नुभएको छ र सरकारमा मन्त्रीका रूपमा पठाउनुभएको छ, त्यस अवसरलाई म खेर फाल्दिन”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर काठमाडौँवासीलाई खुवाउने सपना देख्नुभयो उक्त सपनालाई आफूले अस्थायी रूपमा भए पनि पूरा गर्न लाग्ने बताउनुभयो । खानेपानी जनताको मौलिक हक भएकाले यसलाई पूरा गर्ने दायित्व सरकारको भएको उहाँको भनाइ थियो । कांग्रेस नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र १४औँ महाधिवेशनले बलियो बनाएको बताउनुभयो ।

“कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीमा नीति र विचारभन्दा व्यक्तिको बीचमा प्रतिस्पर्धा भयो, जुन दुःखद कुरा हो”, उहाँले भन्नुभयो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित हुन्छ महाधिवेशनमा विजेताले उपविजेतालाई सँगै लिएर अगाडि बढेमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई अझै सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्को केन्द्रीय सदस्य मञ्जु यादवले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गर्नेगरी कांग्रेसले सङ्गठन अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १९:१४