२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मुक्त हलियाका घर निर्माण गर्न बजेट

१२ पुस, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले मुक्त हलियाको घर निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि उक्त बजेटको व्यवस्था गरेको हो । घरबासको व्यवस्था नभएका उनीहरूको आवासका लागि नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

“पुनःस्थापना हुनबाट छुटेका ‘क’ वर्गको परिचयपत्र पाएका मुक्तहलिया परिवारका लागि घर निर्माण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “जग्गा खरिदको कार्य गत वर्ष नै गरेका हौँ । विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौँ । अहिले त्यो कार्य पूरा गरेका छौँ । ” मुक्तहलिया पुनःस्थापनका लागि नगरपालिकाको वडा नं १ वन्साहमा जग्गा खरिद गरिएको छ ।

पुनःस्थापनका लागि छनोटमा परेका २७ परिवारमध्ये २५ परिवारलाई घर निर्माणका लागि रु दुई लाखका दरले शुन्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । उनीहरूलाई सात धुरका दरले घरबासका लागि जग्गा उपलब्ध गराइएको छ । उक्त जग्गामा दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्तहलिया समाजका अध्यक्ष सिवी लुहारले बताउनुभयो ।

उहाँका अनुसार सौचालय निर्माणका लागि प्रतिघरघुरीलाई रु एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलब्ध गराउने भएको छ । सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भइसकेकाले केही दिनभित्रै निर्माण कार्य थालिने बताइएको छ । लगतमा समावेश भई परिचयपत्र पाएका ४५८ मुक्तहलिया परिवार पुनःस्थापना भइसकेका छन् ।

पुनःस्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्तहलिया परिवारको सङ्ख्या भने ३५२ छ । पुनःस्थापनमा नपरेका परिवार नगरपालिकाका विभिन्न ठाउँका झोपडीमा बस्दै आएका छन् । पुनःस्थापना भएका र लगतमा समावेश हुन नसकेकामध्ये ९९ प्रतिशत व्यक्ति दलित समुदायका छन् ।

संविधानको धारा ४० को उप धारा ५ र ६ ले हरेक भूमिहीन दलितलाई राज्यले एकपटकका लागि जमिन उपलब्ध गराई आवासको ग्यारेन्टी गर्ने कुरा उल्लेख छ । सोहीअनुरुप नगरपालिकाले मुक्तहलिया पुनःस्थापनको कार्य अगाडि बढाएको जनाएको छ । पुनः स्थापनमा परेका परिवारले रोजगारी नपाउँदा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । प्रत्यक्ष रोजगारी सिर्जना हुने खालका व्यावसायिक तालिमको व्यवस्था गरिदिन मुक्तहलिया परिवारले माग पनि गरेका छन् ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १५:२८