२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

तमु ल्होसारका अवसरमा विभिन्न सम्मान तथा पुरस्कार घोषणा

१० पुस, पोखरा । तमु ल्होसारको अवसरमा विभिन्न पुरस्कार तथा सम्मान घोषणा गरिएको छ । ल्होसारको अवसरमा पोखरामा आयोजना हुन लागेको विशेष कार्यक्रममा विभिन्न सम्मान र पुरस्कार वितरण गरिने तमु धिंका अध्यक्ष हुम तमुले जानकारी दिए ।

१४ पुसमा हुने कार्यक्रममा गणेशबहादुर गुरुङ स्मृति कोषबाट पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जर्ज जोनलाई सम्मानित गरिने भएको छ । एक लाख ११ हजार नगदसहित उनलाई सम्मान गर्न लागिएको तमु धिंले जनाएको छ ।

तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति कोषबाट समाजसेवातर्फ समाजसेवी रुद्रकुमारी गुरुङ (मैना), साहित्यतर्फ काठमाडौंकी उमा गुरुङ, बेलायतकी र्इशा गुरुङ, साहित्यतर्फ क्यानडाका केहरसिंह गुरुङलाई सम्मान गर्ने निर्णय तमु धिंले गरेको छ ।

तमु कर्णेल तिर्थकुमारी गुरुङ समाजसेवा पुरस्कारबाट मेजर लक्ष्मीप्रसाद गुरुङ, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा पुरस्कारबाट गोपाल गुरुङ, स्व. घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली तमु, डा. हर्क–डा. चन्द्र–प्रा. सन्त गुरुङ शैक्षिक एवं समाजसेवा पुरस्कारबाट समाजसेवी देवीराज गुरुङ सम्मानित हुने छन् ।

यसबाहेक विभिन्न छात्रवृत्ति वितरण पनि हुने छन् भने तमु धिं नेपालका सहसचिव एव साँस्कृतिक विभाग संयोजक मेनकाजी गुरुङको स्मृतिमा कोष स्थापना गर्ने तयारी छ । कोषमा तमु धिं नेपालले दुई लाख हस्तान्तरण गर्ने भएको छ ।

ल्होसारकै अवसरमा शनिबार साँझ रोधी साँझ हुँदैछ भने १२ पुसमा तमु युवा भेला, प्रशिक्षण र तारा खेलमैदान शिलान्यास हुनेछ । १५ र १६ पुसमा समुहिक ल्होसार कार्यक्रम हुने संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । तमु ल्होसार पोखरामा विशेष मनाउने चलन छ ।

प्रकाशित मिति : December 25, 2021 at 4:08 pm