२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सिमकोट-७ का २५० घरधुरीलाई न्यानो कपडा

९ पुस, सिमकोट । सिमिकोट गाउँपालिका–७ का डाँडाफया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ।

ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए ।

विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायका २५० घरधुरी हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो कपडा वितरण गरिएको फ्रिज्जी लाइट संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले बताए ।

सिमकोट गाउँपालिका-७ डाँडाकाँडा ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको लामाले बताएका छन् ।

विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्ला सिमिकोट आइपुगेको भन्दै संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको शेर्पाले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा सिमिकोट गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर शाही भौगोलिक विकटता र गरिबीले जाडो छल्न मुस्किल परेका समुदायलाई सम्झेर न्यानोमायासहित न्यानो कपडा बोकेर हुम्ला आएकामा धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १८:४२