२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलिया सुवेदी दम्पत्ति पक्राउ

८ पुस, काठमाडाैँ । काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका २ जना मुख्य बिचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदी र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले राम कुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो ।

रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्‍याएको भन्ने व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार ०९:४६