२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

३८ हजार बालबालिकालाई विद्यालयमै खोप

बाह्र वर्षदेखि माथिका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमा कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै आजदेखि खोप दिन सुरु गरिएको हो ।

उक्त उमेर समूहका ३७ हजार २५ र अन्य एक हजार ३३९ गरी ३८ हजार ३७४ बालबालिकालाई बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा बुधबार र बाँकी पालिकामा बिहीबार र शुक्रबारदेखि खोप लगाउन व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने अभियानअनुसार पहिलो दिन दुई पालिकाले खोप लगाउन सुरु गरेका छन् । बालबालिकाको खोप अभियानको निम्ति सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिसकिएको छ । व्यास नगरपालिकामा १० हजार २४३ विद्यार्थी र अन्य ५०० गरी १० हजार ७४३ जनालाई खोप लगाइने छ ।

भानु नगरपालिकामा चार हजार ७१३ विद्यार्थी र अन्य ३१० गरी पाँच हजार २३ जनाले खोप लगाउने कार्य सुरु गरिएको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा सात हजार २०० विद्यार्थी, अन्य ३०० गरी सात हजार ५०० बालबालिकालाई खोप लगाइने भएको छ । भिमाद नगरपालिकामा तीन हजार १५ विद्यार्थीलाई खोप लगाइने भएको छ । म्याग्दे गाउँपालिकामा एक हजार ५०६ विद्यार्थीलाई, घिरिङ गाउँपालिका एक हजार ५७० विद्यार्थी र अन्य ४५ गरी एक हजार ६१५, ऋषिङ गाउँपालिकामा विद्यार्थी दुई हजार २०६ र अन्य ९४ गरी दुई हजार ३०० जनालाई लगाइने छ ।

देवघाट गाउँपालिकामा एक हजार ५५४ विद्यार्थीलाई, बन्दीपुर गाउँपालिकामा एक हजार ९५७ बालबालिका र आँबुखैरेनी गाउँपालिकामा विद्यार्थी तीन हजार ६१ र अन्य १०० गरी तीन हजार १६१ जनालाई खोप लगाइने भएको छ । खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ । मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १८:३१