२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लुम्बिनी जाेड्ने दुई पुल ८ वर्षमा पनि बनेनन् : ठेकेदारसँगको सम्झौता रद्द, नयाँ ठेक्का प्रक्रिया सुरु

-लक्ष्मण पौडेल

७ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी जाेड्ने पर्यटकीय सडकमा निर्माणाधीन दुई पुल वर्षौदेखि अलपत्र परेका छन् । वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल आठ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेका हुन् । ०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बाम्ती जेभि कन्स्ट्रक्सनले २५ असार ०७१ मा सम्झौता गरे पनि हालसम्म निर्माण सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ ।

पुल निर्माणको ठेक्का पाएको जेभि कन्स्ट्रक्सन र आयोजनाले एकअर्कामाथि दोषारोपण गर्दै पुल वर्षौदेखि अलपत्र परेका हुन् । अहिले भने सरकारले ठेक्का नै रद्द गरेको छ । रुपन्देहीका यी दुई पुल हुलाकी सडकमा पर्छन् । निर्माण कम्पनी पप्पु बामतीले आफूले गर्नसक्ने सम्पूर्ण काम गरिसकेको र पुलको डिजाइनमा नै प्राविधिक त्रृटि रहेकाले निर्माण अगाडि बढाउन नसकेको बताएको छ भने हुलाकी सडक आयोजनाले भने निर्माण व्यवसायीले काम नगरी विविध समस्या देखाएर पुलको काम सम्पन्न नभएको बताएको छ ।

साँघुरो पुल र जीर्ण भएका कारण पुलमा आवागमन एकोहोरो गरिएको छ भने सवारी जामको समस्या पनि छ । अकस्मात पुल क्षति भएमा यसले लुम्बिनी करिडोरमा रहेका दर्जनौ उद्योगलाई प्रत्यक्ष असर पार्छ भने लुम्बिनी आउने स्वदेशी, विदेशी पर्यटक आवतजावत बन्द पनि हुन सक्छ ।

लुम्बिनी जाने प्रत्येक पर्यटक पुलका कारण घण्टौँ समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ । निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा साँघुरो पुलका कारण सवारी जाम हुने र एकतर्फी मात्र सवारी सञ्चालन गराउँदा ट्राफिक व्यवस्थापनमा निकै समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी जाम समस्या कारण पुलमा ट्राफिक व्यवस्थापनका लागि पाँच जना ट्राफिक प्रहरी खटाइएको र जनशक्ति नहुँदा जनपथ प्रहरीको सहयोगमा पुलमा ट्राफिक व्यवस्थापन भइरहेको ट्राफिक प्रहरी बेथरीका इन्चार्ज विष्णु जिसीले बताए ।

फाइल तस्बीर ।

हुलाकी सडक आयोजना गोरुसिंगे कपिलस्तुका प्रमुख विष्णुबाबु पाण्डेले फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएकोमा विभागले ठेक्का तोड्ने निर्णय गरेको जानकारी दिए । ‘०७३ सालमै निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने निर्माण कम्पनीले करिब पाँच वर्षसम्म पुलको निर्माण कार्य सम्पन्न गरेको छैन । समयमा काम सम्पन्न नगरेको ठेकेदारले विभिन्न कारणले देखाएर २३ असार ०७५ सम्म काम सम्पन्न गर्ने थप म्याद पाएको थियो । अब ठेक्का तोडेसँगै फेरि पुल निर्माणको बाटो खुलेको छ, यो महिनाभित्रमा ठेक्का सम्झौता हुन सक्छ,’ उनले भने ।

विभागले सम्झौता तोडेपछि अहिले नयाँ ठेक्काको प्रक्रिया सुरु भएको छ । बाँकी काम आठ-नौ करोड रुपियाँको लागतमा सम्पन्न गर्नेगरी लागत इस्टिमेट तयार भएको र टेण्डर आह्वान भएर मूल्यांकनको चरणमा रहेको हुलाकी राजमार्ग सडक योजना कार्यालय गोरुसिंगेका इन्जिनियर सरद आचार्यले बताए ।

म्याद थप पछिको म्याद २०७५ असार मसान्तको समयावधि सम्म तिनाउ पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ भने डण्डातर्फ २५ प्रतिशत काम मात्र भएको छ । तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २१२ रुपैयाँ भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले ३ करोड १६ लाख ९८ हजार ५५० रुपैयाँ अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ ।

दानव नदीको डण्डा पुल ५ करोड ५६ लाख ८० हजार ११५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले २ करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात ४३ प्रतिशत भुक्तानी लिइसकेको छ । न्युज कारखाना

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ११:१४