२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहन्छाैँः अध्यक्ष नेपाल

२ पुस, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन् । उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताए । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए । उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपालाई सुन्दर बनाउन चाहन्छौँ ।

नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीहरुको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुरमुस्कान देख्न चाहन्छौँ । प्रशन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ,कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तुहरु, शरीरको निम्ति अत्यन्तै पोषक तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनु भयो । उनले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए । अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरण्लाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘कृषि क्षेत्रमा लाग्ने कुराले इज्जत घट्ने होइन, बढ्छ । यसले कृषि उद्योगको रुपमा अघि बढाउँछ । यी सबै उत्पादनलाई बजारसँग जोड्नका लागि बाटाघाटाको आवश्यक छ । भौतिक पूर्वाधारको विकासमा राज्यले दिनुपर्ने ध्यान । क्वालिटीको काम, छिटो छरितो काम । कम खर्चमा धेरै गर्न सकिने कामहरु होउन् । त्यसपछि मानिसहरुको शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ ।

नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ । जलविद्युत विकासको विशाल सम्भावना छ । उद्योगधन्दा, कलकारखानाहरु खोल्न सकिन्छ । यी सबै चिजको निम्ति हामीले गहिरो अध्ययन गर्नुपर्दछ । अनुसन्धान, खोज गर्ने र आधुनिक विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ । हामीले अब औद्योगिक क्रान्ति मात्रै होइन, अब प्रौद्योगिक क्रान्ति आइपुगिसक्यो । टेक्नोलोजिको प्रविधि मात्रै होइन, डिजिटल इकोनोमि आइसक्यो । अर्कोतर्फ हामीले पर्यावरणलाई ध्यान दिनुपर्छ ।’

अध्यक्ष नेपालले नेपालमा प्रति शेक्टर प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए । उनले सामुहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताए ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १६:१४