२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

१ पुष, काठमाडाैँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको बताए

उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताए । उनले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट गरे ।

राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्र बारे राखेको जिज्ञासाका सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाँडै टुंगाउने अबको प्राथमिकता भएको स्पष्ट पारे । ‘हाम्रो प्रदेशको नामाकरण गर्नेसहित अन्य केही प्राथमिकता छन्,’ मुख्यमन्त्री राईले भने ।

उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे । र, बजेट कम भएको अवस्थाले थप चुनौती सिर्जना गरेको पनि उनले उल्लेख गरे । मुख्यमन्त्री राईले अनावश्यक योजना कटौती गर्ने, राजश्व बृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको उल्लेख गर्दै भने, ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ ।’ ‘कर्मचारी पर्याप्त छैनन्, संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको छ,’ मुख्यमन्त्री राईले भने, ‘अब हामी संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भूमिकालाई गहिरो आत्मसात् गरी अघि बढ्ने छौं ।’

सो अवसरमा नेपालका लागि स्वीजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरू सधैँ तत्पर रहेको बताए । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि उनले स्मरण गराए ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १३:४५