२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

पुँजी (सेयर) बजारको विरूद्धमा प्रचण्डले दिए खतरनाक अभिव्यक्ति (भिडियाेसहित)

२६ मंसिर, काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताए ।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए ।

अध्यक्ष प्रचण्डले शेयर बजार प्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए । उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ,विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेका बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको छ । अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आई एम एफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं ।

तर, त्यस्तो होइन्। यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विसित रुप हुन । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो । उसरी विश्वको पैसा सिमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पुँजीबजार हो। पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ ।

पुँजीबजारबाट पुँजीपतिहरुले सिधै पुँजीबाट पुँजी लिने गर्दछ । अब पुँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अर्बौ कमाउने गरेका छन्। अहिले विश्वभर नै शेयर बजारमा लगानी बढ्न थालेको छ ।’

अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरुरी भएको बताए । उनले यस प्रकारमा विकृतीको विष्लेशण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओबादी आएको बताए । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १६:४०