२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित

२४ मङ्सिर, बैतडी । परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीले यहाँका विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’ सम्पन्न गरेको छ । मङ्सिर ५ गतेदेखि सुरु भएको शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो । शिविरबाट १२४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । उनका अनुसार शिविरमा ३७ पुरुषले भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) गराएका छन् भने ४९ महिलाले मिनिल्याप (महिला बन्ध्याकरण) गराएका छन् ।

यस्तै, परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन् । जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ । पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मङ्सिर ५ गतेबाट सुरु भएको भएको सो शिविर मङ्सिर २३ गते डिलासैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा समापन भएको हो ।

सन्तानको रहर पुगिसकेकालाई गाउँमै सेवा दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स इन्टरनेसनल) को प्राविधिक सहयोगमा शिविर सञ्चालनमा गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।यसैबीच, मानसिक स्वास्थ्य शिविरबाट ५२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालयको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ५२ जनाले सेवा लिएका हुन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी भट्टका अनुसार विशेषज्ञहरुले सेवा प्रदान गरेका उक्त शिविरबाट २७ महिला र २५ पुरुषले शिविरमा सेवा लिएका हुन् ।

मानसिक स्वास्थ्यको विषय ओझेलमा परेकाले मानसिक स्वास्थ्यको विषय पनि आधारभूत स्वास्थ्यकै विषय हो भन्ने कुरा जागृत गराउन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य कार्यक्रम नहुँदा विभिन्न खालका समस्याहरु बल्झिरहने भएकाले स्वास्थ्य कार्यालयले गत वर्षदेखि मानसिक स्वास्थ्यका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । अहिले सेवा लिएका नागरिक र अन्यहरुका लागि फेरि दोस्रो चरणमा पनि शिविर सञ्चालन गरिने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई उनीहरुकै घर नजिकै सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १३:५९