२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सञ्चारीका तनहुँको अध्यक्षमा रसाइली

१७ मंसिर, तनहुँ । सञ्चारीका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन भएकी छन् । शुक्रबार भएको समूहको पहिलो अधिवेशनले रसाइलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा ममता गुरुङ ,सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर र कोषाध्यक्षमा शर्मिला विक चयन भए । सदस्यमा सावित्रा कोइराला, सोनिया लगुन, मञ्जु थापा र करुणा थापा रहेका छन् ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, उपाध्यक्ष अस्मिता खनाल, निवर्तमान उपाध्यक्ष नारायण खड्का र सञ्चारीका समूह तनहुँकी संस्थापक अध्यक्ष सन्तोषी श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

सञ्चारीकाको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारले पेसागत मर्यादा र जिम्मेवारीलाई गहन तरिकाले निर्वाह गर्नुपर्ने बताए । पत्रकारिता समाजलाई सही दिशा निर्देश गर्ने माध्यम भएकाले पत्रकार संवेदनशील बन्नुपर्ने उनको भनाई छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्य दूत एवं वरिष्ठ लोक गायक प्रेमराजा महतले तनहुँका पत्रकारको क्षमता अभिवृद्धि गर्नलाई सहयोग र सहकार्य गर्न तयार रहेको जनाए । महतले सञ्चारीकाको कार्यक्रम तथा गतिविधि सञ्चालनार्थ २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सञ्चारीका तनहुँले एक लाख रुपैयाँको ‘तनहुँ सञ्चारीका अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । कोषबाट प्राप्त रकमले हरेक वर्ष जिल्लामा सक्रिय एक जना पत्रकार महिलालाई पुरस्कृत गर्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार २१:०३