२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी

१४ मंसिर, गुल्मी । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता कुल बहादुर केसीले गठबन्धनले देशभर अंहकारी सत्ता बढारिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै केसीले सहिदको रगतले प्राप्त संविधान र गणतन्त्रको विरुद्ध कदम उठाउने ओलीको अहंकार तोडेर संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनको यात्रा अगाडी बढेको प्रतिक्रिया दिए ।

उनले कांग्रेससँग वैचारिक मत फरक भए पनि प्रतिगमनविरुद्ध देखिको सम्बन्धलाई अहिलेसम्म कायम राखेकै कारण केन्द्रदेखि प्रदेशसम्म एमालेले सत्ता छोड्नु परेको बताए । केसीले धुर्कोट गाउँपालिका सबै हिसाबले अब्बल देखिएकोप्रति खुसी व्यक्त गर्दै चौबिसे राज्य अब माओवादीको राज्य भएको बताए ।

सोही अवसरमा केसीले कृषि र पशुपालनको माध्यबाट समृद्ध प्रदेश निर्माण गर्न प्रदेश विकास बैंक सञ्चालनको तयारीमा रहेको बताए । ‘अरू बैंकले किसानलाई कर्जा दिन्छु भनेर दुःख दिए । अब किसानलाई प्रदेश विकास बैंकले कर्जा सरल रूपमा कर्जा दिन्छ,’उनले भने,‘हामी गफ होइन काम गर्छौ ।’

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १८:५४