२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छः मन्त्री झाँक्री

१३ मंसिर, काठमाडाैँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताइन् ।

उनले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताइन्। उनले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिइन् । मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताइन्।

अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उनले बताइन्। उनले भनिन् “विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ ।”

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् । यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् ।

स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ ।

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ । भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।

प्रकाशित मिति : November 29, 2021 at 4:19 pm