२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

विपन्न परिवारलाई मौरीसहितको घार वितरण

१३ मंसिर, दमाैली । तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो ।

विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिइन् ।लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उनले बताइन् ।

“एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण गयौँ । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो”, उनले भनिन्, “त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ ।”एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो। नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

यस वर्ष पनि रु पाँच लाख विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई रु १० हजारमा खरिद गरेको थियो । मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति : November 29, 2021 at 3:19 pm