१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चिलिमे-त्रिशूली थ्री बी हव प्रसारण लाइन तथा सबस्टेसनको निर्माण ६० प्रतिशत सकियो

१३ मंसिर, लण्डन । निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसन निर्माणकाे काम ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि प्रसारण लाइनको निर्माण आगामी साउनभित्र सक्ने गरी काम धमाधम भइरहेको छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०-१३२-३३ केभीको क्रमश: चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । चिलिमे-त्रिशूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

दुबै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज र परामर्शदाता पावर ग्रिड, भारत हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : November 29, 2021 at 11:11 am