२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

१२ मंसिर, काठमाडाैँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे । गृहमन्त्री खाणले भने, “कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।”

उनले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उनले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गरे ।

रुपन्देही गृहमन्त्री खाणको गृहजिल्ला हो । रुपन्देही कांग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित भएका छन् । गृहमन्त्री खाणको पहलमा रुपन्देहीका सङ्घीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाण सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । घोषणासभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले निर्वाचनबाट चुनिएको सभापतिभन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताएका थिए।

प्रकाशित मिति : November 28, 2021 at 1:02 pm