२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्र संघद्धारा अनुमोदन

९ मंसिर, काठमाडाैँ । नेपाललाई संयुक्त राष्ट्र संघको महासभाले अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

नेपाललाई सन् २०२६ सम्ममा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । बुधवार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्र संघले  अनुमोदन गरेको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले जानकारी दिए ।

त्यस अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आउँदाे पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

राईले भने, ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो । राष्ट्र संघले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:२७