२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

केपिलासगढी गाउँपालिकाको डिजिटल पार्श्वचित्र तयार

७ मंसिर, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको डिजिटल पार्श्वचित्र तयार पारिएको छ । डाइनामिक अनुसन्धान तथा परामर्श फाउन्डेसन खोटाङ तथा सेन्टर फर सस्टेनेबल डेभलपमेण्ट स्टडीज प्रालि ललितपुरले डिजिटल पार्श्वचित्र तयार पारेको हो ।

सात वडा रहेको गाउँपालिकाको समग्र वस्तुस्थिति समावेश गरिएको डिजिटल पार्श्वचित्र सोमबार डाइनामिक अनुसन्धान तथा परामर्श फाउन्डेसनका परियोजना व्यवस्थापक ध्रुव श्रेष्ठले गाउँपालिका अध्यक्ष कृष्ण राई, उपाध्यक्ष हिराकुमारी र प्रमुख प्रशासकीय अधिकृत छविलाल राईलाई हस्तान्तरण गरेका छन् ।

स्थानीय सरकारको नीति र योजना निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँ तथा नगरका वस्तुस्थिति विवरण तयारी कार्यविधि २०७५ मा आधारित रही गाउँपालिकाको समग्र वस्तुस्थिति विवरण तयार पारिएको हो । डिजिटल पार्श्वचित्रले स्थानीय तहको योजना तर्जुमा, अनुगमन तथा प्रगति मापनलाई सूचनामा आधारित, व्यवस्थित, एकीकृत, नतिजामूलक, सहभागीमूलक र प्रभावकारी बनाउन स्थानीय सरकार तथा सरोकारवालालाई महत्त्वपूर्ण आधार प्रदान गर्ने सेन्टर फर सस्टेनेबल डेभलपमेण्ट स्टडीज प्रालिका मेजेजिङ डाइरेक्टर मिलन चौधरीले बताए ।

प्रमाणीकरण गोष्ठीपछि डिजिटल वस्तुस्थिति विवरण गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । घरधुरी सर्वेक्षण, संस्थागत सूचना संकलन, श्रोत नक्साको लागि सूचना संकलन तथा नक्सा तयारी लगायतका विधि अपनाएर डिजिटल पार्श्वचित्र तयार पारिएको हो ।

डिजिटल वस्तुस्थिति विवरणमा गाउँपालिकाको जनसंख्या, भौगोलिक अवस्था, सामाजिक विशेषता, प्राकृतिक सम्पदा, आर्थिक अवस्था, विकासको स्थिति झल्कने आधारभूत तथ्यांक समेटिएको फाउन्डेसनका परियोजना व्यवस्थापक श्रेष्ठले बताए । उक्त डिजिटल प्रोफाइल केपिलासगढी गाउँपालिकाको वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १८:३०