२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीले भने: एमसीसी नचाहिए फिर्ता लान्छौँ 

३ मंसिर, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता परियोजना (एमसीसी) पास नभए फिर्ता लैजाने चेतावनी दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा लुले यस्तो बताएका हुन् ।

एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो राखेका हुन् । एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन् । भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको संसदबाट पास गरेर कार्यन्वयन गर्नुपर्ने भएपछि राजनीतिक वृत्तमा धेरै छलफल र विवाद भइरहेको छ । यसै सन्दर्भमा नेपाल भ्रमणका आएका लुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २२:२५