६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

समाजवादी प्रेस संगठन गैरसरकारी संस्थाको रूपमा दर्ता, ठूलो भाग खान गएकाहरू ट्वाँ

३ मंसिर, काठमाडाैँ । नेकपा (एमाले) नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसको नेतृत्वको सत्ता गठबन्धनमा सामेल हुन एमालेबाट चोइटिएर बनेको नेकपा (एककीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल स्थापनाकै क्रममा संस्थापकहरुबीचमा विवाद छताछुल्ल भएको छ ।

यही मंसिर २७ गते घोषणा गरिएको सो संगठनले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा औपचारिक दर्ता हुने क्रममा एमालेनिकट प्रेस चौतारी नेपालबाट विद्रोह गरेर ठूलो भाग लिन गएकाहरुको नामसमेत हटाइएको छ ।

चौतारीका तत्कालीन उपाध्यक्षहरु विश्वमणि सुवेदी र नरेन्द्र साउद, उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य जीवन बिसीलगायतको नागरिकता संस्था दर्ताको क्रममा प्रयोग नगरी कानुनी रूपमा संस्थापक हुने सूचीबाट हटाइएकोछ ।

उनीहरुले संगठनको अध्यक्ष, महासचिव लगायत मुख्य पदमा दाबी गरेर पार्टीका अध्यक्ष माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतलाई हारगुहार गरेपनि अध्यक्ष शम्भु श्रेष्ठले आफू अनुकूलको टिम घोषणा गरेपछि विवाद छताछुल्ल भएको थियो ।

उक्त विवाद घोषणासभामा सार्वजनिक भएको थियो । घोषणासभा नै बहिष्कार गरेर हिडेँका उनीहरूले पछि आफूहरूको असहमति रहेपनि प्रचार गरिएको जस्तो बहिष्कार नगरेको भन्दै स्पष्टिकरण दिएका थिए । यद्यपी ठूलो भाग खाने भनेर समाजवादी भन्दै हिडेका पत्रकारहरू यतिखेर न संस्थापक न त सम्मान केही पनि नपाएपछि ट्वाँ परेका छन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट सो संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका थिए ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २०:४२