२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

डिसेम्बर दाेस्राे साता सिक्किममा थाक्थुङ आइडलको फाइनल हुने

-प्रकाश पाक्साँवा

३ मंसिर, तेह्रथुम । भारतको सिक्किममा बसोबास गर्ने लिम्बू समुदायले मौलिक पर्व चासोक तङनाम (उधौली चाड) यस वर्ष पनि भव्य रूपमा मनाउने भएका छन् । आफ्नो संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले पूर्वी सिक्किमको रानीपुलस्थित मेलाटारमा १० देखि १२ डिसेम्बरसम्म लिम्बू समुदायले छैटौ चासोक तङनाम उल्लासका साथ मनाउने तयारी गरेका छन् ।

चासोक तङनामको अवसरमा धेरै लिम्बू समुदायले मन पराएको थाक्थुङ आइडल सिजन-१ को पनि फाइनल हुने नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बूले बताए । लिम्बु गीत संगीतलाई विश्वसामु चिनाउन आयोजना गरिएको थाक्थुङ आइडलको पहिलो र दोस्रो अडिसन सिक्किममा सम्पन्न भइसकेको छ ।

कार्यक्रममा नेपाली तथा सिक्किमे गायक गायिकाको भाषिक तथा लिम्बू मौलिकताजन्य प्रस्तुति रहने आयोजकले जनाएको छ । कलाकारहरूले प्रत्येक दिन याक्थुङ साम्लो, हाक्पारे,पालाम साम्लो,ख्यालीलगायत नेपाली गीत गाउने कार्यक्रम छ ।

पूर्वी सिक्किम,दार्जिलिङ,कालिम्पोङ, पश्चिम बंगाललगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बू, तुतु तुम्याङ, थाङबेन, मेन्छिङ, बालक, वृद्ध तरुणहरुको सहभागिता रहने कार्यक्रममा लिम्बूहरूको मौलिक नृत्य प्रतियोगिता, मौलिक खेलहरु, केःलाङ, हाक्पारे साम्लो, ख्याली साम्लो, थाक्थुङ जातीय खानाको स्टल र सांस्कृतिक महत्व तथा चिनारी बोकेका सामग्रीको प्रदर्शन हुने भएको छ ।

प्रकाशित मिति : November 19, 2021 at 10:49 am